Monday, April 11, 2011

एक चेउली भेट

दिदीहरुले दुई-तीन दिन लगाएर म्याङ्लुङ्ग बजार भन्दा अलि तलको गाउँदेखि ढाँड पिल्याउँदै  बोकेर ल्याएको रातोमाटोले लेकको जाडोमा कक्रिएका हातहरुसंग घरको भित्ता लिपिएपछि घरको भित्ता मेरो निमित्त नक्शा र अक्षरहरु कोर्ने सादा र उपयुक्त पाना बन्थ्यो l सिन्का र कोइलाले पालामका थेगो र टुक्रा, चराचुरुंगी, मान्छे, घाम, फूल आदि इत्यादि कोरेर  उहाँहरुलाई साह्रै सताउँथें l त्यै पिराहा आज डिजिटलका भित्ताहरु यसरी कोर्दैछु l


बुवा-आमाको लिम्बू साहित्यिक बोलचाल, लिम्बू परिवार,समाज, प्रकृति र मेरो आचरणले नै  साहित्य-संगीत-कलामा मलाई नजानिदो गरी यसरी  घोलिदियो कि औपचारिक साहित्य लेखन र चित्रकरिताको दुईदशकमा देखिएको मेरो सिर्जनशील यात्रामा साहित्य र कलाको विथीमा यो ब्लग एउटा सानो प्रस्तुति मात्र हो l त्यो भन्दा पनि अर्को एक अविस्मरणीय कुरा- मैले त नेपाली लिपी पनि काठको सानो फल्याकमा धूलो राखेर डिको( बाँस-काठको सानो सिन्को)ले कोर्दै बाह्रखरी र चित्रकारिता  धूलो मै सुरु गरेको थिएँ l आजको यो अत्याधुनिक डिजिटल दुनियामा मैले मेरो साहित्य र कलालाई यसरी विश्व समुदायमा प्रस्तुत गर्न पाउँदा मेरो मन मलमल र आल्हादित छ l 


अमूर्त रुप मै साहित्य र कलामा चलेको मेरो उपद्रो र चकचकलाई अमूर्तबोधी दर्शनले  असिम सिर्जनशिलतामा भेट्दा प्राप्त भएको बोधीसत्वलाई  जीवन र गजतमयी रुपमा मैले ग्रहण गर्न पाएँ l कुरुप सौन्दर्य मिमांसा र दुरुमार्गी पथले मेरो साहित्य र कलामा दिशानिर्देश गर्दै आयो l जसलाई मैले ईमान्दारीपूर्वक यहाँ पस्किएकोछु   l

No comments:

Post a Comment