Muktak / Ruwai / Haiku / Tanka / Play / Senryu...

 -- मुक्तक--
==============================================================


जून झर्दा तीनजुरे उकालो चढ्दै थिएँ
हिउँका थुम्काहरुसंग युद्ध लड्दै थिएँ
त्यै डाँडापारी गन्तव्यको विन्दु थियो
र नै, चुचुरोमाथि चक्षु उकास्न  बढ्दै थिएँ


__________________________________________________


यस्तो होस् निर्णय-मारेर मर्छु कि बाँचेर बचाउँछु

उम्रिन्छ भने त सुकेको खरमा डढेलै लगाउँछु

विनिर्माणमा प्रतिनिर्माण गर्ने कोहि छ भने

आफ्नै घर भत्काएर त्याँ' चौतारी बनाउन सघाउँछु

_____________________________________________________________________









                     .....आतंकारी घोषित भएँ l


अँधेरीमा रातभर भयले ढुकढुकी दाबेर बसें l
   उज्यालोमा हेरें चौगुना बढेर गयो, कामेर बसें l
      सहनुले सिमा नाघेपछी सतर्क भएँ,बिरोध गरें l
तेही दिनदेखि हैकमवादीको  म आतंकारी घोषित भएँ l

______________________________________________________________________



                                      जहाँ मन रमाउँछ



                              जहाँ मन रमाउँछ, त्यहीं घरबार झैं लाग्छ l
                आँसुले आँसु साटिए पो मान्छेको संसार झैं लाग्छ l
               गाउँघर छोडेर सहरको महलमा भाडाको कोठा लिएछौ ,   
रात काट्ने ठाउँ नहुँदा आफ्नै झुपडी सम्झे,  दरबार झैं लाग्छ l

______________________________________________________________

  ...मसिना पर्नु ?



             पाकेको धानमा सधैं असिना पर्नु ;
बिदेशी भूमिमा हाम्रा लाठेको पसिना पर्नु ;
         संसारभरिका मान्छे अजंगका भईसके-
  भएन हौ, हामी खिईंदै युगौं मसिना पर्नु ?_______________________________________________________________





                कस्तो अंग होला ?


के-के बन्द गर्नुछ, गर ! गोपनियता भंग होला
देखाउने र लुकाउने दाँत तिम्रै सोचाईसंग होला
माथि छोपिए तल देखिन्छ,तल छोपिए माथि
नदेखिनु पर्ने त देखियो, अरु कस्तो अंग होला ?


______________________________________________________________________

                                                      
                          
आकास छेंड़छु भन्ने बाँस, भूईंतिर झुकेर  टुंगिन्छ l
बादशाहको कथा नि  जनतासंग घुंडा टेकेर  टुंगिन्छ  l
सुरुवात अनेक,समाप्ति अनेक !तर कठै बिडम्बना-
नेपाली कविका कुरा ठुलै भए नि,आखिर अभाव मै पुगेर  टुंगिन्छ l

_______________________________________________________________________


एक हातले लेऊ l
सय हातले देऊ l
आफ्नै पसिना खानेले हेपे-
घुप्चुकमा लात्तले देऊ l

_______________________________________________________________________



गोपिनीलाई कृष्णको बाँसुरीको धुन ठूलो l
बिपत्तीमा एकै शब्दको सान्त्वनाको  गुन ठूलो l
कसैलाई सुन ठूलो, त कसैलाई जून ठूलो l
भोको किसानलाई च्यौली ढिडोसंग चिम्टी नून ठूलो l

________________________________________________________________________

बेरोजगारी  भयौं हामी, जताततै कामै-काम छन् l
ओझेलमा चिसियौं,संसारभरि घामै-घाम छन् l
बिचारको अर्थ माग्दा  लाखौंलाई गोली ठोकियो l
अझै मृत्यु माग्दै 'मुक्तिपूर्ण मर्छु' भन्नेका लामै-लाम छन्  l

________________________________________________________________________

अचानक खुर्पेजून झरेपछी मनको रात भाग्यो,
घोंचा झैँ काटेर मिल्का'को हाँगा नै जाग्यो l
उखान याद आयो- बाह्रबर्षमा खोला फर्किन्छरे !
कोशी बनी  उकालो बग्दा साँच्ची यस्तै लाग्यो l

_____________________________________________________________________



साथी ! दशा लागेपछी फलेकै धान असिनाले टुट्छ l
बाउको बिर्ता चाहिन्न,भाग्यमानी आफ्नै पसिनाले उठ्छ   l
सिंह दरबारको सिंहलाई देश,राष्ट्र,भाग्य,धर्म,कर्म...केहि चाहिन्न रहेछ l
शोषण-भष्टचार गरेर केवल  एक पेट मिठो मसिनाले पुग्छ l

_____________________________________________________________________



....Ruwai...
====================================


बारदलीका  फूलसंगै   सुक्दोछु अचेल l
साँझ-बिहान चिसो अगेनु एक्लै फुक्दोछु अचेल l
'तिम्रो अभाव' निहूँ नै निहूँ भयो-
भोको पाडोको आवाजले नै बेस्सरी दुख्दोछु अचेल l

____________________________________________________________________

...Haiku...
=====================================

आकाश रोयो l
पहिरोलाई दाउ l
खोलाको स्वांग l

--------------------------------------------------------------------------------

फुजीको बैंस
पेसिफिकको उछ्वांस
बग्यो साकुरा

===================================================================


 लघुनाटक
                                          आहारिस                                                                                         

 पर्दा खुल्यो-

मनुवा:  भगवान बिन्ति,बिन्ति, बिन्ति,बिन्ति....!
 (दिनमा लाखौं पटक बिन्ति सुने पछी भगवानको दिल पग्लियो l )
भगवान: धेरै बिन्ति गरेर मेरो मन पगाल्यौ, के चाहियो मनुवा ?

मनुवा: मलाई चाहिएको होइन भगवान ! मेरो दाईको मेरो भन्दा ज्यादा एक हल गोरु छन् l भीरबाट खसालेर मार्दिनुस,सके सम्म दुई हल नै मारी दिनुस lअनि म ऊ भन्दा धनि हुनेछु l
(भगवान अवाक भएर भने)-
भगवान: तिम्रो दाईले तिमी भन्दा १० बर्ष अघि देखि खेताला गरेर जोहो गरेको सम्पत्ति हो त्यो l ऊ भन्दा धनि हुनुछ भने अब ऊ भन्दा २० बर्ष ज्यादा परिश्रम गर l सम्पत्तिको जोहो गर l गईहाल यहाँबाट !
(भोलि बिहान मनुवाको लास रुखमा फलेको थियो l दर्शकले यो मृत्युलाई घृणा गरे l पर्दा झर्यो !)