नेपाली कविता

सिस्ने सिद्धान्त  
                                  -खगेन्द्र पन्धाक लिम्बू


आङ्को अस्कोट 
मलमल-कोमल-न्यानो !
त्यो अगावै -
भाङ्ग्रे सिस्नो मै त हुँ


ऐन्द्रिक इयत्तालाई
चिलिरहन्छु-बेस्मारी  l

कामी-दमाई-सार्की वा बोक्सी
इत्तरोको पर्खालमा उम्रिएको
सिस्नो नै सिस्नोसंग
अल्लो-संग्राम
घोषणा गर्छु आज l

एक चिम्टी हिन्दु,
अर्थात् एक मिलिग्राम मुस्लिम कि बुद्धिष्ट !
वा, एक रौँ किराँत या क्रिश्चियन ! -सप्पै कू'रू,
हिरोइन फलाएर पप्पीफूलमा-
कुरुक्षेत्रमा मर्छौ तिमीरु !
ट्विन्स्टावरमा पुरिन्छौ
इराकमा पड्किन्छौ
जेरुसेलममा फाँसी लाग्छौ
आऊ सिस्नोफूलको सम्प्रभू दिन्छु-
जंगलमा फुल्नू सराबरा !

जर्जबुस-ओसामा-ओबामा-गदाफी गधाहरु !-समविम्ब सप्पै
क्राइष्ट-बुद्ध-राम-अल्लाह-मसिह महापापीहरु !-समप्रतिक सप्पै

मतलबले -
सिस्नोको पातमा फट्यांग्राहरु झैँ हनिमून मनाएर
चिल्नु-चिलिनु-को नीतिशास्त्रमा घुषपैठसंग
यु.एन.को नून सोझो
सिस्नो भरेर आन्द्रामा 
भौतिक हतियारसहित
शान्तिसेनामा भर्ति हुन्छन झुसिल्किरा'रु !

बापतमा -
कुरूप सौन्दर्य मीमांसाले  
सिस्नेरीमा जीवनचक्रको सुकोमल स्पर्षले 
म वय:स्थ चिलिदिन्छु-तिमेरुलाई l

मार्ष्टिमृष्टि नीतिशास्त्रमा 
आङ्को अस्कोट 
मलमल-कोमल-न्यानो !
त्यो अगावै -
भाङ्ग्रे सिस्नो मै त हुँ l

__________________________________________________________________________ 


म युयुत्सु हुँ l


मान्छेको बिरुद्ध
युद्ध नलड्ने भनेर
चुपचाप बसेकोछु l
मेरो
अखण्डता

सार्बभौमसत्ताको
घात गर्दै
अघि आयौ भने
एक्काइशौं शताब्दीको
अन्तिम युद्ध
तिमीसंगै लड्छु
lलड्छु तिमीसंगै l

कोलोनी बाँच्न सक्दिन l

दुई दशमलब चार प्रतिसत
भूगोलको फोक्टीमा
धरतीका सारा
पन्ध्र प्रतिशत
मान्छे/अ/मान्छे बीच
डढेलो सल्काउन चाहन्न l
मेरो शरीरभरि
झुल्ला थापेर चकमक नपार
ममाथि तेल नथप
म अहिले आगो भएकोछु l
शैलाधिपबाट
तिमीले चोरेका माटो

बंग्याएको ईतिहांसमा
�अब,लाभा उमालेर छोड्छु l

विस्तारवादी आतंककारी !
कुमनुच्छे !
तँलाई तुन्द्रुंगमा हाल्छु l
हाल्छु तँलाई तुन्द्रुंगमा l

क्लिव !
अज्यौली थापेर
जाफ्ता च्यात्न
म पनि जान्दछु l
अचैतन्य !
लोहकिल मिच्दै
�मसंग सेम थपेर बढ्दैछौ l
भीरमा बसेर सोघा झैं नतर्साऊ l
तिम्रो कल्पान्त नजिकिएकोछ l
lमेरो राष्ट्रियतामा धावा नबोल l

लोदर योपन सहन सक्दिन l

म वाग्मीपुत्र हुँ l
अग्निशर्मा हुँ l
अग्रेठ भएकोछु l
स्वतन्त्र भुतल/व्योमप्रेमी
हिमाली राज्यको
�प्रगल्भ नेपाली हुँ l
स्वाभिमानमा अपच
अतिक्रमण अक्षम्य छ l

तिम्रो भौज्य होइन यो मेची-महाकाली l

स्वाभिमान
�र
स्वतन्त्रताको निमित्त
यो अझेटोमा
पुरै................
�अढाई करोड भन्दा बढी
प्राणले एकै चोटी
प्रतिरक्षात्मक रुपमा
अन्गुली खेल्दै
पृथ्वी रंग्याउन तयारछु l

मेरो इरादा बुझेर घुंडा टेक l

भाग !यहाँबाट

रोटी पोलेर खाऊ l
धोतीले इज्जत छोप्न सिक l
त्यहिँ तिम्रो भलो छ l

म योगक्षेममा छुच्चोछु l
यो विपुलामा
मेरो पनि आफ्नै देश छ l

कोलोनी बाँच्न सक्दिन l

खबरदारीको
यो अन्तिम पत्र हो -
अन्यथा,

अन्तिम युद्ध तिमीसंगै लड्छु l

अजस्त्र म नेपालभक्त हुँ l


२०१० अगष्ट ०७
________________________________________________________________



अग्नि-ललकार



म युयुत्सु हुँ l

मान्छेको बिरुद्ध
युद्ध नलड्ने भनेर
चुपचाप बसेकोछु l
मेरो अखण्डता

सार्बभौम सत्ताको
घात गर्दै
अघि आयौ भने
एक्काइशौं शताब्दीको
अन्तिम युद्ध
तिमीसंगै लड्छु l
लड्छु तिमीसंगै l

कोलोनी बाँच्न सक्दिन l

दुई दशमलब चार प्रतिसत
भूगोलको फोक्टीमा
धरतीका सारा
पन्ध्र प्रतिशत
मान्छे/अ/मान्छे बीच
डढेलो सल्काउन चाहन्न l
मेरो शरीरभरि
झुल्ला थापेर
चकमक नपार
ममाथि तेल नथप

अहिले आगो भएकोछु l
शैलाधिपबाट
तिमीले चोरेका माटो

बंग्याएको ईतिहांसमा
अब,
लाभा उमालेर छोड्छु l

विस्तारवादी आतंककारी !
कुमनुच्छे !
तँलाई तुन्द्रुंगमा हाल्छु l
हाल्छु तँलाई तुन्द्रुंगमा l

क्लिव !
अज्यौली थापेर
जाफ्ता च्यात्न
म पनि जान्दछु l
अचैतन्य !
लोहकिल मिच्दै
मसंग सेम थपेर बढ्दैछौ l
भीरमा बसेर
सोघा झैं नतर्साऊ l

तिम्रो कल्पान्त नजिकिएकोछ l
मेरो राष्ट्रियतामा धावा नबोल l

लोदर योपन सहन सक्दिन l
म वाग्मीपुत्र हुँ l
अग्निशर्मा हुँ l
अग्रेठ भएकोछु l

स्वतन्त्र भुतल/व्योमप्रेमी
हिमाली राज्यको
प्रगल्भ नेपाली हुँ l
स्वाभिमानमा अपच
अतिक्रमण अक्षम्य छ l

तिम्रो भौज्य होइन यो मेची-महाकाली l

स्वाभिमान र स्वतन्त्रताको निमित्त
यो अझेटोमा
पुरै अढाई करोड भन्दा
बढी प्राणले
एकै चोटी
प्रतिरक्षात्मक रुपमा
अन्गुली खेल्दै
पृथ्वी रंग्याउन तयारछु l

मेरो इरादा बुझेर घुंडा टेक l
भाग यहाँबाट

रोटी पोलेर खाऊ l
धोतीले इज्जत छोप्न सिक l
त्यहिँ तिम्रो भलो छ l

म योगक्षेममा छुच्चोछु l
यो विपुलामा
मेरो पनि आफ्नै देश छ l

कोलोनी बाँच्न सक्दिन l

खबरदारीको यो अन्तिम पत्र हो -
अन्यथा,
म अन्तिम युद्ध तिमीसंगै लड्छु l

अजस्त्र म नेपालभक्त हुँ l

२०१० अगष्ट ०७


_________________________________________________


म=भियाग्रा=यार्सागुम्बा


कायाकल्पको सिद्धान्तमा
आफ्नै जीवनको
गोठाले म
एकै छेस्को परान
फलाङ  मार्दोछु-
आफ्नै हृदयको लेक -लेक 
फत्रक-फत्रक.... फत्रक-फत्रक...

यार्सागुम्बा जिन्दगी  भोग्छु l
भोग्छु यार्सागुम्बा जिन्दगी l

यो उकुसमुकुस
सिसिफस यात्रामा
भियाग्रा बैंस 
'सिल्डनाफिल   सिट्रेट' हुँ l
नपुंसक युगलाई
उत्तेजक बनाउँछु अब
 थकित मनुक्खेका
 युगिन क्रोमोजोम उमार्दै
धपेडी मेट्न सल्बलाउँछु-
डिम्बकोष र सुक्रकिटको बियाडमा
फत्र्याक- फत्र्याक ...

 म हिमाली किरो !
हिमाली किरो म !

यो भूगोलको
तल्सिङ को हो ?
जहाँ मैले उम्रिनु हुँदैन l
ऐन्द्रिक मीमांसालाई
सराङमाथि सुकाएर
जसले मेरो मोल तोक्छ l
साल्बुनिर  उक्लेर हेर ,
याम्योत्तर रेखाभित्र
आफ्नो अस्तित्वको गबेषण रोप्छु  l
प्राण रोप्छु मेरै घुर्यानिमा l

जीवनब्यापारको नाका लाउँछु  l
नाका लाउँछु जीवनब्यापारको l

तत्-तत्  पात्रका
अन्ध-अनुचर
आनासुकी थू:ईई ....!
 यी मान्छेका
नाथु चेतनाले
म टिपिन्छु-जोखिन्छु-बेचिन्छु l
 नपुंसकद्वारा भोगिन्छु l

क्षणभंगुरताको म साधन होइन  l

 म यार्सागुम्बा हुँ l
यार्सागुम्बा हुँ म l

लम्बेतन युगका
अन्तरबोधि यायावरहरु
मेरो पैरबीको लेक टेक !
'कोर्डिसेप्स सिनेसिस'
मेरो आख्यानको मन्त्र जप !
प्राकृत दुनियाँमा
दुरुह जीवनको
उज्यालो बिमोचन गर  !

अगणित तथ्यमा-
छोटो=लामो बाँच्छु l
लामो=छोटो बाँच्छु  l


स्खलित नहुनू-
 ऐन्द्रिक अवचेतन
लेकाली मनो-पटाङगिनीभरि  
पलाईरहन्छु छ्यास्छ्यास्ती ...
  
म=भियाग्रा=यार्सागुम्बा l



_____________________________________________________________ 


कृष्ण भिषारिकालाई सम्बोधन !




कृष्णाभिसारिका !
अब,
मलाई
रातमा नभेट्नू l

अँधेरीसंग
पारपाचुके गरें l
............हो,
सम्बन्ध बिच्छेद गरें l
............................गरें l


रात
चोरहरुको हो l
मलाई
टन्टलापुर घाममा
उज्यालो माया खोल्नू l
हामी,
रातसँग नमिल्ने भयौं l


पत्रिया...
मेरी प्रेयसी होइनन l
प्रेयसी...
पत्रिया...हुन सक्दिनन l
रात,
छँदै छैन l
कमार्तन सकियो l
डोकेसो भोग्न
युग मान्दैन l
बोक्सीको आरोपमा
लिंगभेदी अरिष्ट
कलुषीका जाल होलान !
चेतनाको
अर्गेली खोलेर
उज्यालोमा हेर्नूं
आफ्नै,
जीवन घाम हो l
घाम,
आफ्नै जीवन हो l
अनुशयना
आफुलाई नसम्झिनू l
अर्थात्
सम्झिनू l
रात भत्कियो l
कपिन्जल हुनु पर्दैन l
स्वतन्त्रताको कल्लेली
बग्छ -
हो, साँच्ची बग्छ -
कोशी के बगोस त्यसरी ?

प्रगल्भा हौ l
प्रगल्भा तिमी नै हौ l

अब,
लिगलगा छैन l
रात=दिन
तिमी= म
विषाक्त शेषशायी
पुरुष नायकीवाद
सुमुखीले
मेरो पुरुषार्थ
हत्या गरेर
आज
हैकमवादको
अन्त्य गर्नू l
पोते-चुरा तोडेर
बुर्का हटाएर
लालिमा मै
खुलस्त हेर्छु l
निस्पट अँधेरोसंग
उछ्वांसमा
कुमारी बैंस नसाट्नू l
लिंगहीन सम्भोगले
जिन्दगी जन्माउनू l
घामसंग
कौमार्यको बियाडमा
सनातन बिऊ छर्नू l

ऊह मात्र
हुँदै होइन l
झूमक आकाश रच्ने
त्रैकालिकका मालिक
मेरी
प्रेयसी l

युग दृष्टजा !
आगो हुनू l
भूतिभूषणहरुले
अझै पनि
नसी देख्दो हुन् !
देउकी-देउचेली
मान्दिन-नमान l
समलिंगी
युग जन्माउन
सतित्वहीन संसर्ग
अब,
दिन-दहाडै
प्रकाशसँग साट्नू l
उजेलोसंग लेनदेन गर्नू l
तिमी=पृथ्वी
सम्बोधन गर्छु-
कृष्णाभिसारिका !
अब,
मलाई
रातमा नभेट्नू l
प्रेम उज्यालो l
उज्यालो प्रेम l



20th March 2010

______________________________________________________


सावादी बैंकक
युद्धमा गेजुहरु
                    Khagendra Pandhak Limbu

बाइयोक टावरभन्दा
अलि अग्लो  रहेछु र देखें -
यसले छेलेको 
चाउफ्राया  किनारका वस्तीहरु !
उसो र संझिरहें-मेरो माझी गाउँ                                                           
सावादी ख्राप !

यहाँका सडकमा सबै हिंड्न सक्दैनन्-
भीरै-भीर जस्तो
यहाँका बतीहरु सबैलाई उज्यालो हुँदैन
घाम लागे जस्तो
भो' सियामीहरु !
तिमेरुको सोम्ताम जस्तो
स्वादिलो छैन यो बैंकक

पहेंला गुम्बाहरुका ठूला-ठूला ऐनामा
आफुलाई निलो देख्न आएको म !
लोभिन्छु -राच्चाप्रारोपका थुँगाहरुको आख्यानमा

साला ! ओडारभित्रका डिस्को-थेकले
बन्धक राख्न खोज्छ
खुशीको अनुसशरण गरेर 
अल्कोहल  ह्वास्स डकार्दै  हाँस्दा
ए मान्छेहरु, म तिमेरु जस्तो देखिन्न र ?

थाहा छ -
 खमेरुजसंगको तिमेरुको कुल्कुटुम्ब
बर्मेलीहरुसंगको तिमेरुको सम्बन्ध
म तेस्तै युयुत्सुको बच्चो -
कसरी मेरो गाउँले  बुद्ध यहाँ आएर
उसको पैतलाको छाप भेट्यौ-पुज्यौ ?
म पनि बिचारको गेरु वस्त्र लाएर आ'को छु
यो पल्ट मेरो नेपाल देखें यहि र रोएँ

तिमेरुलाई  देख्दा- लाग्छ
मैले कहिल्यै वाकसौन्दर्य सिकिनछु
अर्थात् सौन्दर्य बुझ्दै -बुझिनछु
सोच्दा-सोच्दा गर्मी बढेकोछ -उसै गर्मी
यो पल्ट सोंक्रानमा माया नछ्यापी फर्कन्न
घर-देशको माया लम्बिंदैछ-
एता भिसा नि सकिँदैछ

बाइयोक टावरभन्दा
अलि अग्लो  रहेछु र देखें -आज
यसले छेलेको
तेती परको मेरो ख्याउटी श्रीमती
चेकान ना ख्राप !सावादी ख्राप !
-------------------------------------------------------------------------------------------------------------

आरावालाको दन्त्यकथा
                         
                                Khagendra Pandhak Limbu


 बिबशताको सातू,
मगजको पोल्टामा हालेर..
एउटा प्राण ,
सपनाको वृन्दाबनमा छिर्यो,
र ढाल्यो,
बिशाल मनो-बृक्ष l

भोकको अजंग टूनलाई,
धरानमा पल्टाएर,
मनको आरालाई
ताकतको
रेटीले उध्यायो l

उपर -नीचे हुँदै..
स्वेच्छालाई चिर्न थाल्यो...
बटम,तकती र फल्याक झैँ...!
 युगौं चिरीरह्यो -
सायद ! जीवनका आकारहरु l


थकानको पात टिपेर -
समयको गल्छेंडोको जरुवा..
उभाएर उदेकले पियो l
र सम्झ्यो-
चुल्हो र माया,
छानो र बेदना,
घाम-पानी र जिन्दगानी l

सम्झिंदा-सम्झिंदै देख्यो-
ढुंगा=देवता,
देवता= ढुंगा,
आफु= ढुंगा l

अलापियो...
आरावाल...
धेरै पुस्ता...l

ल्याऊ,झ्याऊ,च्याऊ..ऐझेरु...
सबै-सबै पलाएको ठूटो झैँ ..
कालान्तरमा भेटियो आरावाल l
रंगी-चंगी
सात्विक चेतनाको सुनाखरी
घामतिर फर्किएर ...
स्वेच्छाले फूलेका ...l

आजका ति संसारका महंगा फूल ..
उसकै टाउकामा
मनोमानी फूल्न सिकेका थिए l

इतिहाँसले
झेली गर्ला भनेर
सावधानीपूर्वक
यो कथाको उपहार
उनै आरावाललाई l

======================================================================

                   पोकंदी
                                                  Khagendra Pandhak Limbu


हिउँका ढिस्कनामा ...
एकटुक्रा घामको बिस्कुन रुघेर
धान नाचिरहेछन-धुपीबैंसहरू
आरुको आँकुरिएको कोपिलामा उक्लिएर
उड्न खोज्छ-कान्छीकिरो मन
भुर्रुर्रss ....भुर्रुर्रss ..भुर्रुर्रss ..

पालामले मनफूल-
फुलाउँछ- ओइलाउँछ-फुलाउँछ..-
मेरो धोद्रेस्वर-ठूली र कानहरु !
मेन्जोमाया-पुषेमेला र सपनाहरु !!

चिन्तनका कर्यांगकुरुंगहरु
धुरीमाथी बतासिएको समसाँझ
रोप्दैछु-मनको घुर्यानभरि

ऐन्द्रिक काँक्रा-फर्सीको बियाँ...झिक्रेबार लाउँदै -सप्रेम !


नागीको  घंघरु पोथ्राहरुमा-
स्वाभिमानी मेरो लाठेपन सुम्सुम्याउँछु
दर्शनका हत्केलाहरुले खस्य्राक-खस्य्राक .बिझाउँछ बाबै !.

आफ्नै हृदयको डील निस्किएर
धएँरो-पिपिरीको थुँगामा -पिङ खेल्छ फिष्टेमन
आमाको कन्तुरमा तामाका कम्पनी पैसाहरु बज्छन -
छिर्लिंग...ssछिर्लिंग ...ssछिर्लिंग ..ss

बैनाबट्टा   जिन्दगी !

म मूला स्वाँठ !
आफ्नै मनको पाठो पक्रिन नसकेर ..
काँडा-सिस्नोघारी टेक्दै खेदाईरहेछु...
ऐतिहाँसिक भीर-कान्लाभरी...युग-युग  !

डाँडामा निस्की कम्मरमा हात कस्दै
खुट्टा उचालेर पोकंदी खेल्छु--------
उलूलूलूलूलू ....ssssहुई.......ssssजिन्दगी-उलूलूलूलूलू ....ssssहुई..sss

------------------------------------------------------------------------------------------------


स्वकीय दुरुहगामी बकबक

------------------------------खगेन्द्र पन्धाक लिम्बू
 
 
 
बेगनासको गहिराईमा
औंसीसंग मरेका
कोर्काली वस्तीका कनिनिका
ओथारो हालेर
उज्यालो कोरल्छु भन्छ -दुरुहदर्शिताले
र बहुलेकाछन् -खगेन्द्र पन्धाक
 
सडकहरु तेर्सोसम्म पुग्छन
चक्काचेतना त्यहीं पुगेर मर्छ
सुगमधर्मी जून
बादल हटेको मौकामा यता झर्छ
राइटब्रोदर्सहरु खाली पेट
अँधेरोमा गोठालो जाँदा
भीरमा म ब्लास्टिंग हान्छु
एक ट्रक उज्यालो गुडी आएर
पहरे करङ्हरु मजबुत नभएसम्म
दुरुहमार्गी भूतले म बहुलाईरहन्छु

पाताले छाँगोसंग कहालिएर
ओरालो-भिरालोको सुसेली हाल्नेहरु
सम्हालिन्छ्न-पाउ चिप्लिएला भनेर
कुनै पानी उकालो नबगेसम्म
मस्तिस्कमा बिधुत बहँदैन
आलिसानगामी कोशी-कर्णाली
उँधै-उँधो बगेको देखेर रुन्छु
समदर्शी काईंलाको उकालो बग्ने अमेजनलाई कल्पेर
र झनै बहुलाउँछु
अशोक पार्थिव तामांगको 'फ्युजन प्रतिविम्ब'ले
मेरो घाऊ कोतर्छ
राजन मुकारुंगको मिथक मायामा
हेर्छु मेरो थोपडा -चर्किएको ऐनामा
र, बकबक गर्छु -दुरुहगामी जोखाना
 
 
आडम्बरी कायापलट मोफसलको मृत्युमा
मलामी जाँदैन
तारेभीर मुनिबाट भीरमाथी बसाईं सर्छु
नेपाल उपत्यकाले मेरो दर्शन मान्दैन
म बहुलाई रहन्छु l
आमभीरहरु मेरो नेपाल हो-त्यहीं चलखेल गर्छु l

दार्जिलिंगका पहराहरु झैं मनांग-मुस्तांग नफुलुन्जेल
स्विजरल्याण्ड झैं हिउँमा ग्राम्य हाँसो नघुलुन्जेल
बहुलाईरहन्छ यो भुइँफुट्टा लिम्बूकबि l
 
जरेड मेसन डाईमण्ड !
'कोल्याप्स' प्रतिगवेषणमा
यो बिपुला राज्यको
काटिएका पाखुराहरुको विनिमय निकाल्दैछु l
 
दिगदिग लाग्दो
पहाडहरु मधेस झर्छन-
मधेसहरु सहर पस्छन-
सहरहरु विदेश घुस्छ्न-
र मर्दैछन सपनाहरु -
चिल्ला सडक-सडक
अलिसान भवन-टावर
भब्य सुपरमार्केट- फ्याक्ट्री-कारखानामा
आऊ--
त्यो भन्दा निख्लम जीवन
म दिन्छु-भीरमा
दिर्घगामी यात्रा -भीरको बाटो
र सुरक्षित जीवन दुरुहदर्शनमा l
 
च्याब्जुले हलो जोते बाँझोमा
सुगमचिन्तनले टाउको जोत्छ-
गाउँ छोडेर अर्काको गोडा-गोडा
आफ्नो झुपडी र याक्साको धुरीमा चढी
छानो नछापेसम्म-
सहरको सरणमा सिविर बस्छ
बिचरो उपभोक्ता दर्शन !
म निम्तो गर्छु-
अप्ठेरा नै अप्ठेराको
दुरुह नै दुरुहको
र सिकाउँछु भीरको गुराँस जस्तो जिन्दगी l
 
परभक्षी जूनलाई ताप्न
फोक्सुण्डोको गरिहिराईमा
औंसीसंग मरेका
कोर्काली वस्तीका कनिनिका
ओथारो हालेर
उज्यालो कोरल्छु भन्छ -दुरुहदर्शिताले
र बहुलेकाछन् -खगेन्द्र पन्धाक l

---------------------------------------------------------------------------------------------------

                               

                                ठण्डीयुद्ध
              
                     --- Khagendra Pandhak Limbu


                                             अलच्छिनी हिउँदे प्रभात !
                                             मेरो आफन्त  कंगालहरुको
                             करङ,औंला  र फुटेका कुर्कुच्चा टोक्दै
                                   बिना अनुमति छापामार शैलीमा
                                                      मेरो वस्ती छिरिस -
                                             सिरीरीरीरी ....सिरीरीरीरी...


कि अब...सप्पै घाम पोखिदिन्छु ;
र,तेरो अतिक्रमण तोड्छु l
कि अब सप्पै आगो सल्काइदिन्छु ;      
र,तेरो विस्तारवादलाई  धपाउँछु l

                          तैंले गरीबलाई मार्न सिकेकोछस् l
                                 म गरीबीलाई मार्न सिक्दैछु l
                                                              लु, आइज !


मेरा मान्छेहरु-
ढुङ्गो-माटो पल्टाएर न्यानो रोप्दैछन-जीउभरि
कोशी-कर्णाली उकालो बगाएर
घाम फलाउँदैछन-टाउकोभरि
तँ,गल्छी-गल्छी
मेरो हिमालको चिसो चोरेर
शक्ति प्रदर्शन गर्दैछस्;
हेर ! मेरा सन्तानहरुको जीउमा 
पसिना उम्लेकैछ   l
लु ! आइज !

               बुढा-पाकाका च्यापु ताक्छ्स
    स्कूले नानीहरुको औंला चुँडाल्छस्
काप-कापबाट छिरेर हात-पात गर्छस
माटोप्रेमीहरुलाई बरफी एम्बुस थाप्छ्स
                                  तँ,त्यहाँ पुग्दैनस -
जहा मैले घाम रोपेकोछु- मान्छे-मान्छे l
                 आगो फलाएकोछु -मुटु-मुटु l
               न्यानो उब्जाएकोछु -घर-घर l


                                     मैले गाउँलेलाई  आदेस दिएकोछु-
                                                   जीउलाई तातो बनाउनू l
                                               र, मुक्तियुद्ध लड्नु-जित्नू l
                                                                 यी
                                          भीर-पाखा-बन-जंगल ओराल्नू l
                                           मेला-पात-खेत-बारी उभ्याउनू l
                              खोला-नाला- हावा-बतासलाई उमाल्नू l
                                                    पसिनाको तातो गन्धले
                                              क्रुर यो ठण्डीलाई दबाउनू l
                                    र जाडो युद्ध भिड्नू-परास्त गर्नू l
                                                                       लु आइज !

कि अब
यो हिमालका  हिउँकै डल्लाले
तँलाई हिर्काएर मार्छु l
कि अब
यी सिरेटो र तुसरोमा
मेरो तातो निस्वासले
तँलाई हानेर मार्छु l

मेरा आफन्तहरु यो युद्ध भिड्न बहुलाएकाछन् l
लु आइज !



तैंले गरीबलाई मार्न सिकेकोछस् l
म गरीबीलाई मार्न सिक्दैछु l
लु, आइज !
सिरीरीरी ..सिरीरीरी......

_______________________________________________________________________


चुक्मे: मोह
                 Khagendra Pandhak Limbu
                

                                          मेन्जो-मेन्जो चारईंच !- भयो भन्छौ l
                                                      एक छेस्का पालाम  !
                                                  एक टुक्रा ठट्यौली....!-ले l

                                                           लु हौ चुक्मे  !
                                    यो पाली नि धान फलेन...!-बहाना गरौँ ?


                                     बाउको लालपट्टाले जारी तिर्नै नपुग्ने ! 
                                 आमाको बुलाकीले खोक्पा बोक्नै नपुग्ने !
                                            तेसो मात्तै होइन नि हौ...
                                               युमा-थेवा साम्मांगले -
                                          मान्छेको मुटु लिन दिंदैन
                   तरेबाले तिमीलाई ढुकढुकी भन्छ- अपराधी नबनाउन !

                                              कसो पो भैगयो हौ ?
                                              मेन्जो-मेन्जो चारईंच
                                              दुई फन्को धाननाच !
                                             दुई छेस्को पालाम !-ले
                                            चुक्मे ...मन दुखाएँ नि !

                                      त्रिशाली मेला फेरी भेटौंला हुइ ..
                                मरिन्छ कि बाँचिन्छ -धानै नाचिन्छ ....

_______________________________________________________________________

                                          

प्रवाल खोजको एकानुभूति

(Translated from-AN EXPERIENCE OF SEEKING CORAL)

                                                       -Khagendra Pandhak Limbu
                                          


एक टुक्रा प्रवालको निम्ति 
तिम्रो हृदयको बाटो भएर 
उपनिवेशिक मुंगाधारको पिंधमा डुबुल्की मारेकोछु l

मेडीटेरानियन सागरको मुटुमा
तिम्रो रुपको प्रवाल भेटें l
मेरो लुरो अस्थिपन्जर बिरुद्ध  
क्याल्सियम कार्बोनेटको फैसल्ला गरें l
जो,सौर्यप्रकाशको रफ्तारमा झनै गहिरिंदै थियो l

गुजुप्सागत जिन्दगी
बरफीयुगदेखि
निराश सामुद्रिक किनारमा काटेकोछु l

नूनिलो पानी पिएँ l
नूनिलै पानीमा पौडीएँ l
तिमीले सूचना र दाबी गर्यौ -
' यो मेरो आँसु हो
यो मेरो पसिना हो''
इंगित गर्दै-
सिसिली,सर्ड़ीनिया र नेप्लेसका तटहरु !
जहाँ,एकजोडी सिउँडीहरु फक्रिएका थिए l
सुक्खा मरुप्रदेशप्रति साँचै इर्स्यालु थिएँ l

सौभाग्यको निम्ति अपशकुनबाट मुस्कुराएँ ;
र, समाजिक जीवनको घुम्ती बाटो समाएँ l
ढुंगेयुगको निम्ति
मसंग मेरो हातमा सानो ढुङ्गो थियो l

आज पर्यन्त-
सागर किनारमा छालतरंगको सुसेली सुन्न सक्छु l
जहाँतहीं प्रवालको दृष्टिभ्रम देख्न सक्छु l
म तिम्रो हृदयमा फाल हान्न तयार हुँदैछु l

पुनश्च:

एक टुक्रा प्रवालको निम्ति 
तिम्रो हृदयको बाटो भएर 
उपनिवेशिक मुंगाधारको पिंधमा डुबुल्की मारेकोछु l


________________________________________________________________________

                       राम्द्वालीका ढाकरेहरु !

                                                                  -Khagendra pandhak Limbu



जीवन=राम्द्वाली भीरका ढाकरेहरु l

समय=तमोरको कहाली लाग्दो छालहरू  l

चेतना=माथिबाट ढुङ्गो लडाउने बाँदरहरु  l

गल्छेँडो नै  गल्छेँडो बगेर
समुद्र भेट्नै दूर छ l
यो भीर- मान्छेको भएन कहिल्यै l
परिवेश- राम्द्वाली भीरको साँघुरो ढुङ्गे गोरेटो l
 .......................................

अलि वर-दोभाने मेला देखेर पनि
एकता बुझ्दैनौं l
हातेमालोमा धान नाचेर पनि -
प्रेम जान्दैनौं l
.......................................

कहिले पल्टने भएर संसार टेक्यौं-देख्यौं l
कहिले मुन्ग्लाने भएर जीवन भोग्यौं -खेप्यौं l
कहिले हली भएर जमिनलाई उल्टायौ-पल्टायौं l
उही राम्द्वालीको अक्कर  बाँच्यौं l
जिन्दगी समतल भएन -
उही हामी सपनाका भरियाहरु l

लस्रक-लस्रक=जीवनको खेल 
चकचक=जीवनको उपद्रो 
अझै मेवाखोला र नाल्बोखोलामा बगेको
हाम्रो फौदारे बैंस र रगत सम्झेर बक-बक गर्छौं l
सिरुपाते खुकुरी  र घंघरुको डण्डाको गीत गाउँछौं l
राम्द्वालीको भीरमा ढुङ्गो लडाउने हामीहरु l


ओलाङ्चुङ्गोला -नाघ्नु छ  l
देउराली-भन्ज्याङ्-काट्नु छ l


त्यहीं तेम्बोकेको मावली नचिन्ने ;
उही सबुवाको कुटुम्ब नचिन्ने ;
यहीं हाङ्पाङ्को तरेबा नचिन्ने ; 
हामी भीरका बटुवा -
मान्छेका गाउँहरु
कति टाढा रहेछन हगी ?-यो भीरदेखि !


माथि हेर्यो-टोपी खस्छ l
तल हेर्यो -मुटु खस्छ l



बग्नुसंग डराउँछौं कि ! 
चढ्नुसंग थाक्छौँ कि !
पहरासंग कहालिन्छौँ कि !


हाम्रा गोडाहरु काम्छन् -थर्थरी.. यो भीरमा-यो समयमा l



सम्झ्यो चकचक लाग्छ l
बुझ्यो उपद्रो लाग्छ l



राम्द्वालिका हामी  ढाकरेहरु -

माथि हेर्यो -टोपी खस्छ l
तल हेर्यो -मुटु खस्छ l

बसिरह्यो- टाउकोमा ढुङ्गो खस्छ l

========================================================================

                        जिलसी आत्महत्या !

                                                                        Khagendra Pandhak Limbu



                                                                                       मान्छेको आत्महत्याको जग्गा- समदर्शी काईंला
हो रहेछ-
आत्महत्याको जग्गा नपुगेकै रहेछ-खगेन्द्र पन्धाक लिम्बू 
क्यू छ क्यू.. आत्महत्या गर्नेहरुको !-

'मेन्टल डिस्अर्डर' होइन ..
अलिकति चाहिं तेसो हो !
मोर पिपल डाई अफ जिलिओस्ली द्यान क्यान्सर -जोसेफ केंनेडी
हो रहेछ -
कालगती न्यून भैसक्यो l

गब्यूति नाघ्न नसकेर जिन्दगीले
जब आफैंलाई तिरस्कार गर्छ;
अनि अर्थ्याउँछन् बाँचेकाहरुले-
'जिलसी इज लाइक अ बोन क्यान्सर !'
ठ्याक्कै खतरा !

जन्तु मान्छे हुन नसकेर मर्दैन l
मान्छे मान्छे हुन नसकेर मर्छ l
मरिरहेछौँ -यो गोलार्ध आफ्नै बधशाला भएको छ l

म पनि  कानून बमोजिम -
आत्महत्यालाई घोर अपराध मान्छु l

========================================================================

यूक,फ्ल्युइज्म र मान्छेको चेक्ता-भ्रुण

                                                    Khagendra Pandhak Limbu



बाईफालेले फालेको
सिमलघारीको भ्रुण
मान्छेको चेक्तामा
क्वाँ-क्वाँ रोएको साँझ
खोक्पा विचार बोकेका
मान्छेहरु अमान्छे हुनु अगावै
अर्थात् अमान्छेहरु मान्छे हुनु अगावै
जीवन र जगतको इन्साइक्लोपेडीयामा
आफुलाई सुरक्षित भेट्नू l

सहोक्तिको अलंकार नजानी
स्ट्रेचरमा चढेर निस्केको
असांस्कारिक विश्व भ्रमणले
मान्छेको आँगन टेक्न सक्दैन l
यो मलामीहरुको सहर
सोघाहरुको राज्य
र, ससंत्रहरुको विथी-हटियामा
मायाको खेल नखेल्नू l

यहाँ सग्ला पानीका मूल-मूल
यूकहरु रगत भोकाउँछन् l
वस्तीहरु फ्ल्युइज्मले सिथिल छन् l
देश-महादेश
वर्ग-उपबर्ग
जात-उपजात
भाषा-उपभाषा
लिंग-उपलिंग
बर्ण-उपबर्ण
धर्म-उपधर्म
केहि छैन l

वृत्तिदाता-वृत्तिभोगी
एक मान्छेको चेक्ता क्वाँ-क्वाँ रुन्छ l
बाईफालेले फालेको भ्रुण हामीहरु !
आफुलाई आँसुमा भेट्नू र हांस्नू !
जीवनको खेल l

रिपुताको मिथक पढेका
डार्विनका पात्रहरु
बाइफाले चेक्ताको क्वाँ-क्वाँ प्राङ्यास सुनेर
मनमौजी जीवनलाई ढाडस दिने
यूक र फ्ल्युइज्मबीच
जाबेभूतको गृहनगरमा
होसियार घस्रिनू ..
क्रिमिकोषको उमेर l

यो चिहानघारीमा लासहरुको आन्दोलन
र सग्लो पानीको मूल-मूलमा
परभक्षीहरुको अनसन
जम्काभेट नहुँदै
मर्नू-बाँच्नलाई
बाँच्नू-मर्नलाई
फ्ल्युइज्मको प्रतिवादी
इकोसिस्टमका हामी किरा-फट्यांग्रा
र मान्छेको चेक्ता हामी 'क्वाँ-क्वाँ' भ्रुणहरु !
डार्विनको बहिखाताका हामी हाजिरेहरु !
संगोल दरखास्त-बर्खास्त दिउँ l

======================================================================

                                                                  

याङ्बेन र कोजाग्रतेलाई निषेधित कविता

                                                          Khagendra Pandhak Limbu



लघुचेतलाई  खोसेलोमा बेरेर 
     बुज्रुकपनाको  निकोटिन 
              धुङ्धुङ्ती उदाउँदै 
           कोर्काली साँझहरुमा   
चमेराहरू डण्डीबियो  खेल्छन
   निरपेक्षताको भूत चढेपछी 
             हेर ! रेबिजरोगीहरु 
               पानी छुन डराउँदै
                     महासागरको
         लघुताभाष वाक्छन् l

                        तिमीले जायज कुरो गर्यौ -
          डुप्लिकेट नामका डुप्लिकेट जन्तुहरु !
तेसैले गधालाई अब कविता नसुनाउँ साथी !


                                                    परभक्षी जुगाहरु
                                     अरुको रगतले बेलुन भएर
                             लडेकाछन भूईंभरि अटेसमटेस...

                                     औंला दिंदा डुडुँल्नु निल्छ l

                  पशुलाई रक्तदान नदिने भयौं, होइन त ?
                                  तिमीले ठीक भन्यौ-
     ऐंझेरुलाई अब बाग निर्माण नगर्ने भयौं l
निगुरोहरु बाह्र बर्षमा फुलेर गुहु गन्हाउँछन् l
                                                    हो रहेछ l

                                                            बर्खे च्याउको
                                थेसिस नलेख्नु भन्यौ -लेख्दिन l

                                                ज्यातिच्युती भए पछी
                                             उपद्रो गर्छन-उपियाँहरु ..
                               बिचरा ! मान्छेको क्रोमोजोम बिना
                                     जन्मिएका यी रामापिथेकसहरु  
                                            थुतुनोको बिज्ञापन गर्छन  l
तिमीले ठीक भन्यौ-
तामाले आकास छुंदैन

                                      आहालमा
उभयचरहरु समसाँझ हल्ला गर्छन l
 झ्याल-ढोका थुन्नू भन्यौ-थुनिदिएँ  l

कौवाले ऐना हेरेर
गीत गाएको मध्यान्हमा
तिमीले चल्लाहरु खोरमा थुन्नू भन्यौ-थुनें
अहिले पो थाहा भयो-
यो संकेत अनिष्ट रहेछ
आफ्ना बिस्कुनहरुको ख्याल गर्नू 
चेतनाले साइरनहरुको अर्थ बुझ्नू

                  ठिक भन्यौ-
होरी र फिरा मात्र बुझ्नेसंग जुवारी नखेल्नू l
             यो याङ्बेनको कथा -
मक्की-सुकेको थुर हावाले खसेपछि 
      सबै अनिष्ट निराकरण हुन्छ l
   जदौ-मान्छेले टोकेर बाँचेका मान्छेहरु !
डुप्लिकेट मान्छेहरुलाई अब कविता नसुनाउनू 
     ठीक भनेछौ-मैले कविता सुनाइन अब  
                  कोजाग्रतेहरुलाई ...!!

======================================================================

                                               सोक्पा हुँ

                                                  Khagendra Pandhak Limbu



 पोथ्रा वर्तमानको
जुठो परेर
तागेरा निन्ग्वाफुमाको
माङ चढेको बेला
आफ्नै जोखाना बक्छु-

'उत्तर आधुनिक सोक्पा हुँ l'


अगमनीया
यी अक्षोभ
शैलाधिपहरुलाई
झिम्रेनी बनाई
यो ब्रम्हाण्डको
पटाङ्गिनीमा
वाग्मी युयुत्सुहरुको
जन्मघर घोषणा गर्छु-


च्याप्जुहरुको क्रोमोजोम
उत्खनन गर्छु l

टेक्जोमिज्मको
लम्बेतन यात्रामा
समयसँग खुम्चिंदै
भूगोलमा च्यापिएर
क्रिमिकोष बन्न नसकेका
सास्ती र सिक्सिको जीवन
भोग्न मन्जुर छैन l

बिपुला च्यातेर
विपाक जीवनको अनुमोदन गर्छु l

अचलाका शैलज सोक्पा
मैले -
अस्याङ्रो बाँच्नु छैन l
Position
... V...
Life
.V.
Kingdom
..V..
Phylum
..V..
Class
.V.
Order
.V.
Family
.V.
Genus
.V.
Species


जिवनाभ्यासमा खोज्दैछु-
सगरमाथा वरिपरी
आफ्नै जिन्दगी ..
सोक्पा हुँ म

==================================================================

                                              तरान



चितास्थिलाई कुँदेर
भूगोलको
सेताम्य पटांगिनीमा
ललितविस्तर केलाउँदै पो !

तरान ओकल्दैछु l

ब्रम्हाण्डलाई
जेबमा हालेर
मनुष
हामीसंग बिदा माग्दा
बृक्षरूह झैँ
आधुनिकताभित्र सुकेर
श्यामकली जस्तै पनि
फूल्न नसक्दा
कोर्काली वस्तीमा
हम्मे-हम्मे...
स्थित्युध्दार गर्नुछ l

स्वर्णिम-शिखरबासीको
शशिप्रभा पेवा हो l
जहाँ हामी बाँचेकाछौं l

पुरोगामी हुनुपर्छ l

रालघोष भुलेर
श्रमसाध्य पथमा
अन्तश्चक्षुले
अभेदात्मा बाल्दै
पृथ्वीका टुप्पीमा
उत्सर्गपूर्ण
जीवनको ध्वजा फहराउँ l

पख्यानमा आधुनिकीकरण l


मिथ:
मिजाजले
स्वर्गतुल्य नेपालको
माटो टेकेर
दम्भियात्रामा निस्कौं l

जगतीतल अझ उचालौं l
===================================================================


अमिट धुनहरुबाट



स्पन्दनको डीलनेर झरेर
स्मृतिपटलको अनामिका
एकनासले हिर्काईरहेछ
अतितको झूम्के मुर्चुन्गा ..
ट्याऊँ ट्याऊँ ,,,,ट्याऊँ ट्याऊँ,,,
हृदयको बलेंशीमा
टुसुक्क बसेर
बाँस झ्यान्गको गीत सुनीरहेछु... l
भूइँकुहिरो छिचोल्दै-
छिर्छ घैलाको मिठो गमक...
म त्यसै-त्यसै
झूल्के घाम !

अनुरागको ऐलेनी पाखा भरी,
मूर्छनाका बुकीफूल र बनमारा
मनग्गे फूल्छ्न.. l
मोहको तगारो खोलेर
सुस्तरी पवनले
आत्मीयताका पुष्पदलहरु उकाएर
फुस्स-फुस्स उडाईरहेछ.. l
फस्को छातीको भित्तामा,
बोन्सो बीच सिउंडी पलाउँछ ..
चसक्क दुख्छ..कुमन..
अन्जान थेगो फूत्किन्छ -
ऐया...!

अटेरिले पाएको-
मायाबी उपमा-
'ढूंगा' !
आज त
विरहको डोको बोकेर
न्यानो ताप्ने राघेढूंगामा निस्किएर
विरक्तिको गीत गाईरहेछ ..
ढूंगा संगै ढूंगेमन ..
सुँक्क..सुँक्क....!


उराठ छोप्दै फक्रेका ...
गुरासका यौबना तर्फ ..
चूल्ठोको इशाराले ..
लम्किन्छ्न..हातहरु...
तारेभिर तिर ..,
अचानक खस्छु...
गल्छी भित्र ..
अर्ध-चेतनको चेतबाट..हेर्छु-
आधुनिक-स्वचालित लिफ्टमा ..
बहिस्कृत भएर..
म पेलिएको...
अपरिचित अनुहारले
घरिएको..म ,
खै...के सोच्दाहुन यी मलाई हेरेर ...?
मेरो घाउले त
एउटा कुरा मात्र सोचिरह्यो--
कस्ता -कस्ता अमीट धूनहरु
लुकेका होलान....?
यी मूक नाना तस्वीरमा ...l


********************************************************
 


                     मौलिक प्रतिपादन



विकृताकार -
प्रबर्तनका ढुंगे लोहोरीहरु,
समयानुकूल दर्शन नपिस्दा
बगरमा घाम तापेर ..
क्याक्टस झैं..
डार्विनहरु सुकी मरेका छन्
ऐंजेरुहरु रुख रोग्याएर
आफ्नै आयु घटाउँछन् ..
मार्क्सहरु किन मर्छन -
बर्लिन र ट्वीन्स टावरका
अभिमानी भित्ताहरुमा
चिच्याई-चिच्याई ?

हत्केलामा -
विश्व मानचित्र कोरेर,
खित्का छोड्ने को ?
सम्पन्न महलहरु
गरीवका पसिनाको
भीख मागेर
सहरमा उभिएको
युगौं भो'
दर्शनबेत्ताको प्रबचनले..
यो भीडको हृदयमा
घान पुग्दै पुग्दैन,
लु !
जर्जरता कहाँ मरेको छ ?
त्यसरी-जसरी,
विद्यमान बिचारहरु
समय-समय ..
वैचारिक विष्फोटनमा मरेका छन् l

एका-गोलार्धमा,
ओत लागेर,
स्यालहरु कराउँछन्
इकोसिस्टमको धाकमा ,
चल्ला र कङ्गालहरु
बढेको-बढ्यै !
साम्यवादको पुत्लो बोकेर l

जुझ्नू र टिक्नू,
निल्नू र बाँच्नू,
अर्थात-
अग्लोलाई होचो पार्नू ,
होचोलाई अग्लो पार्नू ,
बराबर बनाउनू l

केहि सत्य छैन l

मान्छे हेरेर जान्नू
माछाले माछी निलेको हेरेर,
आफ्नै जीवनको दर्शन
आफ्नै प्रबर्तनले
एकफेर पिसेर..
यतापट्टि हेरेर
एकै फेर
घान पुगुन्जेल मुस्कुराउनू . l


डार्विन जस्तो होइन ,
मार्क्स जस्तो पनि होइन,
आफू आफैं जस्तो-
दुरुस्त-तन्दुरुस्त ..
मनोमानी हांस्नू !

मौलिक खुसी उदाउनू ll


_______________________________________________________________________


जीवन सम्झौता



जीवनको प्रविष्टि,
खोपीको कुपीमा -
समीचीन विचिचित;
केवल निमिष रम्
भोग्दै जाउँ है l


परिभ्रमण सम्प्रति
संधित्सा

चित्तप्रसन्नताको चिराय,
मनस्विन् हामीहरु ...
आयोधति दु:ख l


अझै थाकेका छैनौँ नि ?


चित्तसंख्य मर्दैन l
निभ्दैन पनि l


हाम्रो यथामति
यो गगनको रङ्ग हो,
समाह्वान गरौँ न त-
यो क्रुर नियतिलाई l


***********************************************************************


.मेन्छ्या,लाठे र पालाम !



सडकभरी,
तार सप्तकका
कर्कस ध्वनिहरू
कर्णमा एलर्जी भोगेर ..
तमोर र खोरूँगाको
किनारा वारी-पारी
पालामको ढाकर बोकेर
भित्ता-पखेरु
कोतार्दै र खोतार्दै
हूलका हूल
मेन्छ्या र लाठेहरु
पुन:कहिले गाउने होलान -
' तीनतले घरको बाहाँसम्म,
यो माया लैजाउँ कहाँसम्म ?
ए,,,,,,,हाएमा हा,,,,, !'

विश्व युद्धमा
मानव सन्सार
धुवाँ र खरानीमा होमिंदा
राँकेनी, दोभाने,त्रिशाली,...
र माईमेलाहरु...
फूल फूलाउँदै र ओईलाउँदै
शान्तिको अनुरागात्मक र रागात्मक
युगान्तकारी मलीन स्वरहरुमा
खोस्रा हातहरुको मुलायम पिएर
ढाकाको रंगहरुले ..
गहनाको लालित्य टल्काउँदै
उन्मुक्त-स्वतन्त्र जीवनको
भब्य हर्ष पोतेर
सौहार्द र सभ्य-शिष्टतामा
हृदयका गेडी-गेडी
गुन्जिरहेथ्यो...एकाकार प्रेम,
'सलल खोली बहँदैछ
ज्यान छ र माया छँदैछ
खो,,,,खै, खो ,,,खै.....!'

बाढी-पहिरो र अनिकालहरु,
थकान-पीडा र आलस्यहरु
मनभरी गुँथेका,
मायावी भाखाहरुले
निरर्थक भएर
परास्त रातहरु
चारै दिशा बाँधेर
अनुकूलीय सुन्दर दुनियाँमा
सुरक्षित मानिसको चोला
मूर्धन्य खुशी थियो -
'बत्तीसै दन्त लहर
रहरले जाला बहर ,
कठैबरी छुइया हा...हा...!'


पेरुँगाभरी-भरीको
चाम्रे र अचार ,
कठुवा टम्म-टम्म-
छनुवा,तीनपाने र निघार,
हरिया विल्कुलै हरिया-
निंबारो र फर्सीको पातमा,
गोलाकार बसेर -
धाननाचको मध्यान्तरमा
प्रेममय खाजा खाँदा
कसले सोच्न सक्छ -
मानिसको टुक्रेदार आकाश ?
'नासपाती फूल्यो नरम पात,
बोल है हजूर धरमसाथ ..
ए है ...हा,,,,,,है.....!'

समयको नीतिनियममा,
रात जितेर सबेरै...
कुट्टे-कोदाले
हले र गोठाले हुन
प्रकृति पूजक
अनुशासित युगिन प्राणहरु..
दोभानमा पाती चढाएर
गहभरी आँशुको सागर,
छातिभरी मायाको खाका बोकेर
वारी र पारी उकालै-उकालो
पोकन्दी खेल्दै छुट्टिन्छन्
'बारीलाई आली खेत होला ,
नमरे बाँचे भेट होला ..
छुइया हा..छुइया हा,,,,.........!'

फेरी -
कहिले भेट हुने होलान्,
मेन्छ्या र लाठेहरु ?
ए हाएमा ..हा....!
***********************
(केहि पद-शब्दार्थहरु) -
तमोर र खोरूँगा- लिम्बुवान क्षेत्रमा अवस्थित खोलाका नाम l
मेन्छ्या - तरुनी l
लाठेहरु- तन्नेरीहरु l
(ए,,,,,,,हाएमा हा,,,,, !'
ए है ...हा,,,,,,है.....!'....आदि ..) - धाननाचको थेगो l
पालाम-धाननाचको लयात्मकता l
गेडी -लोकगीत वा पालामको साहित्यिक रस l
(राँकेनी, दोभाने,त्रिशाली,... र माईमेलाहरु...)- विभिन्न समय र मौसममा लिम्बुवान क्षेत्रमा लाग्ने मेलाको नाम l
पेरुँगा- डाली जस्तो चोयाले बुनिएको,जसमा ग्रामिण कोशेली भरिन्छ l
कठुवा- चिन्डाको भाँडो,जहा तरल पदार्थ भर्न सकिन्छ l
चाम्रे- चामलको सुक्खा र चाम्रो भात जसमा घीऊ र बेसार हालिन्छ l
निंबारो-चिल्लो र ठूलो पात भएको लेकाली डाले घाँस l
पोकन्दी- अलि उच्चा ठाउँमा निस्किएर कुर्लिने काम l



******************************************************************
आत्म-हत्याका कहानीहरु ....

शक्ति सम्पन्न,
पहलमान मानवीय,
अहमको जाँतोमा ..
गरिबी र निर्धनता ,
पेलिएको आजितमा,
हैरानी र दिक्दारीको
बिवसताले नैरास्य हुँदा
अर्जापें कर्द
आँखा चिम्लिएर
आफ्नै गलामा राखें

रेट्न गन्ती सुरु गरें-
एक,... दुई,....तीन -हुन नपाउंदै ,
पटक-पटक
युग-युग
अहंकारीय संसारभरका
विभत्स आक्रमणमा
निर्बलहरुको निरीह
कर्कस चिच्याहट
कर्णभरी ठोक्कियो
संगीन र बमगोलाका चोटहरु
भत-भती
चहर्याउन थाल्यो मेरै शरीरभर...
हिटलरको पाउमा
मृत-तुल्य छट्पटाएको
एक बच्चाको
'पानी'-'पानी' आवाजले
मुटु छिया -छिया हुँदा
यो पल्ट पनि
आत्म-हत्या बिथोलियो,
मर्न सकिन l


छुवाछुत,
घृणा,
दमन,
अपमान,
सहन नसक्दा
आफ्नै लाशको
कोफिन आफ्नै हातले बनाएँ,
र बिषको प्याला खोलें,
मानबखिल्ली उडाउन
मुख आँ ,,गरें
मायाको प्रस्ताबमा
तिमीले थुकेको थुक
मेरो मुखभरी गन्हायो,
'तेरो कपालको जुम्रा
र यो देशको दु:ख ...'
भन्दै आमाको आँसु
मेरो अनुहारमा
तप्प खसेर -
पोल्नु-पोल्यो,
यसपल्ट पनि
आत्म-हत्या बिथोलियो,
मर्न सकिन l

प्राकृतिक प्रकोपले
सधियौं जत्ता-तत्तै
सुन्दर जीवनका लाश
चांगको चांग थुपार्दा
शिष्ट मृत्युको सपना देखें,
र सेतीको गल्छेंडो रोजें,
फाल हान्न आखाँ चिम्लें
एक्कासी-
पोहोर पहिरोले पुरिएका
बृद्ध र बालकहरु
मरणतुल्य
जीवनका भिख
मागेको दृश्य
झल्याँस्स मानसपटलमा फैलियो,
यो चोटी पनि
आत्म-हत्या बिथोलियो,
मर्न सकिन l

क्रान्तिका फेहरिस्तमा ,
लामा-लामा
लडाई-संघर्षमा
निरस-थकित भएर
गलामा डोरी बाँधें
र जीवनसंग घुंडा टेकें,
भर्खरै मात्र
सद्धाम फाँसीमा
हास्दै मरेको झल्कोले
अन्तिमपटक पनि
आत्म-हत्या बिथोलियो,
मर्न सकिन l

लाग्छ-
पीडाहरु बल्झिए पछी
सधैं-सधैं
आत्म-हत्या बिथोलिन्छ
कहिल्यै मर्न सकिन्न !

******************************************************************

यथास्थितिवादको बिमति उर्फ !

ऐन्द्रिक निम्छरो
उभयचरको सहसा
पिरामिड मै हुनाले
तल-तल.....
बिचरोले भिर देख्दैन l
उँभो हेर्दा-
सगरमाथा पनि देख्दैन l
चक-चक बालुवामा,
एकै पल l

उचाईमा गहिराई हुन्छ l
गहिराईमा उचाई हुन्छ l


दूरान्तरको अन्जानीले,
पादचिह्नभित्र संसार खोज्दा-
अक्षमा बाँच्नुको माने-
रात सखारै,
हल्लै-हल्ला मात्र l
अधोमुख आनन,
सुकेको स्कूस झैँ
देखा पर्छ वेला वेला l
जिजिविषामा..........
छिचिमिराको पखेटा झर्दा,
भोजको आयोजनामा
हिमाल नाघेको
एक झुटो सपना
धुमिल साँझैमा गायब l


अतिमन्दी पखेटा
इजिप्सियन सागरको किनारमा
छँदै छैनन् l
बिहानै धुलोसरी गोडा,
अवलेपनले टोक्छ l
विषाद बिरह रुँदै-रुँदै ...
कुवा खोज्छ l
अन्धो वर्तमान l

सत्यबोधि मीमांसामा-
घाम समुद्रको सतहमा l
समुद्र घामको सतहमा l


चिद्वैषम्यताभित्र
मनुज कल्पान्त
रंगित अध्यक्षमा
बौद्धिक कनीनिकाले हेर्दा-
वस्तीहरु...
सत्त्वहरु...
परिधिभित्र अट्दैनन l

त्यसैले -
आफ्नो गोडाबाट हेर्दा -

माथि सगरमाथा छ l
सगरमाथा माथि छ l

खाल्डो तल छ l
तल खाल्डो छ l

धरातलको दर्शन नबुझ्नुले-
उभयचरहरु ...
इतिहाँसमै दुर्लभ हुँदा,
पिरामिड-आख्यान
ऐन्द्रिक रंगीतामा
चोटले लेख्नू
अनश्वर मान्छेहरु l


हिजोमा भोलि छ l
भोलिमा हिजो छ l
बिचमा-
केवल उभयचर छ l


सम्यक धुलोमा
अन्धविश्वासको समीरले
परिवर्तनको दुखद कथा
मेट्दैछ सधैंबाट..l

सर्वश्रेष्ठ हुनुले-
चढेर लड्नु पर्छ l
लडेर चढ्नु पर्छ l
__________________________________________________________________


                       सिम्मा र सम्झना

धरोधर्म!
मैले तिम्रो रात सापटी लिएर..
खान्ग्रे भरी-भरीको तिम्रो माया
टेम्के डाँडाको उकालोमा ..
हैरानले छिचोलेको थिएँ ,
ए सिम्मौ !
कसम होला ..यो भीडमा पनि
तिम्रो मायाको सुगन्ध...
त्यै बूकिफूल र तितेपाती भएर
मगमगाई रहन्छ..
मेरो निस्वास भरी-भरी .!

तिम्रो
चोलीको तूनाको कसम !
मुचुन्गाको धूनको कसम !!
उधौली उँभौलीको पूजामा
..छम-छम ...
ढोल-झ्याम्टासंग
एक शय पांच शिली
तिम्रो
प्राकृतिक नृत्यको सलाम.. !
सत्ते-सत्ते,
यो सागरबीचमा पनि
किन होला -
दुधकोशी,अरुण र तमोरको पानी
तिर्खाएको म ?
त्यो भन्दा पनि-
तल बाँस झ्यांग फेदीबाट
तिमीले घैंलो कम्मरमा राखेर
ल्याएको पानी सम्झिएर
यो बिशाल मरुभूमि
अहिले नै पिउँ-पिउँ झैं लाग्छ !

ए सिम्मौ !
तिम्रो माया
तिम्रो संझना
पारूहांग-सुम्निमा भएर ..
गढ़नु सम्म गढेको छ छाती भरी ..
यत्रो बर्ष, यत्रो साल पनि
..आम्मै !,
म त
अझै माटो नै गन्हाउँदो रहेछु ..
खै बुइंपाको हो कि..हलेशी तीरको..
सिम्पानीको हो कि कटुन्जे तीरको..
के भा' हो कुन्नी!
यो महँगो पर्फ्यूममा पनि
छनुवाको सुन्गन्ध आ'छ !
आपुई!
म त
तिम्रो डबका भरी-भरिको
उधारो माया पो सम्झेछु...
छपनिमा..छानी-छानी भरेको
तिम्रो एक सेर कटुवाको
सम्झना पो कल्पेछु !
कहिले कहीं,
तिमीले जिस्किएर हानेको
बाबरी फूलको चोट
बल्झी रहन्छ एकान्तमा;
लूहौ!
तिम्रो ठट्यौले माया पो सम्झेछु l



सिम्मौ!
मलाई त तिम्रो यादले
घाँसको भारी झैँ बाँधीछ्यौ l
माथि देउरालीको पाती झैँ
अमर-अजर रंगिन मायाका ध्वजा-पत्ताले
भित्र-भित्र गजबले सिन्गारेछ्यौ l
तिन तारा डाँडामा नबस्दै
तिम्रो नूनिलो आँशु ..
कोशीमा मिसाएर
तिम्रो चन्चले आँखामा
सावन रुझाएर..
मलाई तिम्रो पाप लाग्ला!
चिन्डोको निम्ठो भरी..भरी..
जतनले अझै तिम्रो माया
मेरो शिरानीमा सजाएको छु !
हो,
यत्ति भए यहीबाट..
मेरो टेम्के देखी रहन्छु l
मेरो कोशी देखि रहन्छु l
मेरो मायाको गाउँ देखि रहन्छु l
मेरो परुहांग-सुम्निमा..
मेरो सिम्मालाई पाईरहन्छु .. l


ए सिम्मौ !
तिम्रो कसम,
उधौली उँभौलीको कसम,
यो रिबुछे कान्छोलाई
तिम्रो साह्रै माया लागीरहन्छ
सत्ते-सत्ते,
.....तिमीलाई चण्डी नाच
मन परे भन्दा झुसी-झुसी....!!

हिजो साँझ अचानक फेरी-
सम्झनाको पहिरोले बगाउनु-बगायो ...
पिखुवामा खसें कि
!त्रिबेणीमै फसें खै!
आपुई !
लिंग्दे नानाको गाली संझेर
धन्नै-धन्नैले सम्हालीएछु l
कान्छा कोपाको आशिर्वादले .
यलम्बरको छाती मागेर...
कसो-कसो बाँचेछु l

सिम्मौ!
तिमीलाई थाहै छ-
यादको चाप बढेको बेला ..
मलाई कुल-देउता लागी रहन्छ l
पकूसंग ,
चण्डी थानमा पानी चढायौ की !
सात-माइको भाकल गर्यौ ! .
आज अलि सन्चो भएको छु !
मायाले हो कि मूर्छनाले हो..
पात टिपेर
तिम्रो भाका चोर्न मन लागेको छ l
सै सैला हूर्रा हा ..हा..पनि
फूर्नु सम्म फूरेको छ l

आपुई !
यता पनि झूल्किँदो रहेछ जून
तिम्रो शीरको शीरफूल जस्तो
चेप्टे सुन जस्तो-
फेरी ,
आमाको काँडे चूराले छाती कोतर्छ..
पारी खरबारी डढेलोले खाए झैं
उजाड बनाएर
आमा र तिम्रो रुप
मैले डांडा काटेर आएँ..l
त्यो आगो -
त म भित्र सल्की रहेछ ..l
लाल-पट्टा साहूलाई बुझाएर..
चोया कात्दै-
सपनाको डोको
बुन्नु हुँदो हो बाबा !
म पनि भित्र-भित्र बहुत रुझेको छु l
किनेमा,सिन्की र सुकुटी पाउँदा
तिम्रो नाउँको चिट्ठी हात पर्दा -
गाँठे !
तल फाँटको
बेंशी खेत पो आँटदो रहेछु
रातभर-रातभर .....................!

सिम्मौ!
गाई गोठ ढले झैं ,
दु:ख ढालौंला भनेर ..
एक सेर रक्सी र मोहर पैसा
सिम्मापा-सीमामा सामू
इज्जतले राखौंला भनेर..
अरे हो !
यो बिरानो ठाउँमा
साह्रै बलियो पो भा'को छु l
अत्ति नै जाँगरिलो भा'को छु !

सिम्मौ!
तिम्रो उधारो रात
उधारो माया .
सापटी लालीमा
सापटी सम्झना ...
ऊंधौली-उंभौली प्रेम
सबै-सबै -
कल्पनाको ढाकरमा कोचेर
अहो!
अक्करको भीरमा
हैरानले छिचोली रहेछु ..
भालेको डाकसंगै मिर्मिरेमा
पात बजाउँदै मलाई लिन झर्नु है..
तल भन्ज्यांगको चौतारीमा !
छिट्टै भेट्ने बाचा गर्दै
मनको देउरालीमा
म पनि पाती चढाई रहेछु
भक्कानो दाबेर ....
लौ त !सिम्मौ ..
तिमीलाई मेरो
मायाको मुरी-मुरी कोशेली!
सै ढोले सै............!
सै ढोले सै............!

_________________________________________________________________



                                       अप्रत्यासित एक क्षणआकाश पूरानो भएर
फाट्नु-फाटेछ ...........
कोहीसंग छैन सियो-धागो!
कुकुरहरु पनि बैठक बसेका छन् l
खै!
कुन गोलार्द्धमा ओत लाग्ने हो !

गाई गोठ छेउको
मल-खाँडको याद आयो!
भीड गन्हाउँदो रहेछ छी:...
फरक -
भीड आफैं थुप्रिँदो रहेछ !
युगको माग!

एउटा ग्रह
मज्जाले ठोक्किएको छ,
मानब अस्तित्वमा l
गुरुत्वाकर्षणले फेल खाएछ l
ऊ-पल्लो गोलार्द्ध पनि
शून्य डिग्री!
शून्यको हिसाब शून्य!

बिज्ञप्ति निस्क्यो--
"आकाश फाटे जस्तो मात्र हो "
निम्तो चाहिं
मलाई र तपाईलाई पनि
अर्को भीडमा l
.......कसो गरूँ ?


एकै कदम बढ्नुस-
निर्भिकतामा
आस्चार्यप्रद अपवादले
यो संस्कारको
नव-साइत लेख्नुछ अब l

_____________________________________________________________




धार्मिक बिज्ञप्ति

 अबचेतनको
भूमरीमा
सर्बोच्च
इन्द्रियहरूको
बैठक l

यता -
बिरानो
भीडमा
मेरो
मृत्यू, ,
पराई
हातले
फालिएको
शवमा
जंगली
जनावरको
लुछाचुंडी l

पारित
बिज्ञप्ती
प्रकाश -
'धर्महीन
धार्मिक
नेताको
अवसान

समाधि,
धर्म-निरपेक्षमा l''



जीवित
पो
रहेछु l




_______________________________________________________________________


कथांश कविहरुको...

मनो-प्रदेशको
थुम्को-थुम्कीमा
कविताको
घैंया छरेर
कविहरु
साहुको भाखा
टार्दैछन् -
यो पल्ट पनि l

सान्नानीको आँखामा
लाहुरे-फुली

पाते-बुलाकी
जस्तो
कविता सुन्दर
नलाग्दा,
कविहरु
पहिरोमा पुरिन्छ्न-
बेसनाखत l


कविले,
कविता-
आगो हो भन्थ्यो,
चुल्हो चिसै छ l
घाम हो भन्थ्यो,
घर अँधेरै छ l
कविलाई
झुट भन्छन
गाउँमा अचेल l

अटेरीहरु
स्वाभिमानीहरु
भावुकहरु
कलाकारहरु
सृजनशीलहरु
अर्थात्
आकाश झार्छु भन्नेहरु
पाताल पल्टाउँछु भन्नेहरु
अनौ समाउदै
मेसिनमा झुण्डिदै
सडकमा
टाउको जोत्दै
दिमाखभरि
नयाँ सन्सार
बनाएर हिँडछन् l

दुई-चार जना बटुलेर
कविताको उद्घोष गर्छन l
रोम-रोम उमंग
छातीमा सल्काएर
सुखिन धरतीको
सपना देख्छन
र छिर्छन
आफ्नै घरको
दैलाको ठेली नाघेर l

अन्तर-बेदनाले
अगेनुको कोइला
टिपेर भुइँमा
कविताको सट्टा
कर्जाको साँवा-ब्याज कोर्छन l
आफ्नै लाला-बालाको
निन्याउरो मुहारमा
अलिखित
कविता पढ्छन l
कविता जस्तो
जीवन सहज नहुँदा,
श्रीमान-श्रीमती
बिपरित पल्टिएर
रात काट्छन l

थोत्रो भाँडामा
कविता उसिन्छन l

अनि
संतापमा
अर्को गोष्ठीसम्म
भूमिगत हुन्छन l
हाम्रा भेगतिरका
कबिहरु..
अर्थात्
वस्तीका प्रचलित
पागलहरू l

सास्वत-सत्य-
अँध्यारोबाट प्रकाश,
निर्धनताबाट शक्ति,
समस्याबाट समाधान,
शोषणबाट मुक्ति,
निराशाबाट जीवन,
उनै पागलहरूले ल्याउनेछन् l

त्यो महामहिम गोष्ठी,
कुर्दैछु-युग-युगबाट l

कविहरुको
अबर्णनीय
एउटा बिजय जुलुस
यी पीडीत
गाउँलेहरु झैं
हेर्न आत्तुर छु l
यै गाउँमा
पागलहरुको
जीत पर्खिरहेछु l


____________________________________________________________________


बंशाणुगत निशानी ..




असिम
सपनाको चर्खामा,
रगत-पसिना कातिएर,
तानमा बुनिएको
जीवन-कला
जंगली विषाक्त
काँडामा अल्झिंदै
लर्तरो फाट्दै-फाट्दैन
त्यै-
घरेलु खाँडी कपडा हो हजूर..!
यो छाती..!

सृष्टिको पिण्डलाई..
थुन्चे र कोक्रो झैँ
हल्लाउदै
एउटा मूर्त आचरण,
दश धारा मायाले पुल्पुलिंदै
सजीव
घाम-पनि भएर
अपराजयी प्रेम हूर्कियो l


निडर छ l
छुच्चो छ l
तपाईं जस्तो l
म जस्तो l

भोक-प्याष,
जाडो-गर्मी,
हाँसो-खुशी,
बैंस-जीवन
एक टुक्रा
रगतको रङ्ग हेर्न..
सर्बश्र्व सटही

लिलाम भो',
इतिहांसका..घाऊहरु l

लेक -बेंशी..
तराई-पहाड
कुम्लोमा बोकेर.
दुखाईका पीपहरुमा
काल खण्डका
फलामे च्यूरा चपाएर
बिशुद्ध चेतना
मुखमा खुवाउँछ l
त्यै-
जूठो खाएको मुखले ..
मातृ-प्रेम नबोले के बोलोस ?
राष्ट्र-प्रेम नबोले के बोलोस ?

हामी नेपाली जस्तै जस्तै



__________________________________________________________________