गीत ( Lyric )

ढाकरले किचिएरै....
                         Khagendra Pandhak Limbu


ढाकरले किचिएरै आधी बैंस झर्यो l
बाँकी बैंस लेक-बेंसी मै कहाँ पर्यो-पर्यो !

गाई-वस्तुको पछी-पछी भाग्य खोज्दै हिंडें l
खेताला र पर्म खेल्दै जीवन रोज्दै हिंडें l
घाम-झरी छेल्दा-छेल्दै आधी बैंस झर्यो l
बाँकी बैंस भोकै-नांगै कहाँ पर्यो-पर्यो !

सालै पिच्छे सपना त पहिरो भई बग्यो l
पसिनाको भेल बगाएँ, कर्मले नै ठग्यो l
लाठे मन सम्हाल्दैमा आधी बैंस झर्यो l
बाँकी बैंस मङ्सिर कुर्दै कहाँ पर्यो-पर्यो !


******************************************************************************


               जब जाँतो....


जब जाँतो पिंध्न बस्छु,
तिम्रो यादले मनै पिसिन्छ l
जब बढ्छ तमोरको भेल,
आँसु पनि त्यहीं मिसिन्छ l


मनकै साँघु बगाउनेले, खोला तरी भेट्न के आउला !
दिलको मन्दिर भत्काउनेले,फर्की फेरी माया के लाउला !
जब घर लिप्न थाल्छु,
आफ्नै मनको भित्ता उकिन्छ l
ढिकी चाली धानै कुटे,
भित्र-भित्रै मुटु कुटिन्छ l


चिनो छोड्यौ जालीरुमाल,त्यहीभित्र आँधी-हुरी छ l
नौनी-छाती जलाई गयौ,अझै माया मुरी-मुरी छ l
सम्झनाको चर्खा घुम्छ
मनमा रुवा-धागो छरिन्छ l
घैंलो भर्दा पंधेरीमा
आधी आँसु संगै भरिन्छ l

6/10/2010
Bangkok,Thailand.

*************************************************************************

                 
              नदुखे त रातै जान्न..



नदुखे त रातै जान्न
दुखाईदेऊ   बिन्ती
यो आँसुले पोल्नु-पोल्यो
सुकाईदेऊ बिन्ती

कृष्णभीर भो' मेरो मुटु दिनै पहिरो जान्छ
त्रिशुली भै' झझल्कोले उँधै बगाई लान्छ
नटुटे त दिनै जान्न
टुटाईदेऊ बिन्ती
पिरतीले मार्नु-मार्यो
छुटाईदेऊ बिन्ती

सम्झनाको हुरी-बतास मनमा चलिरा'छ
बिश्वासको बर-पिपल  त्यहीं ढलिरा'छ
नजले त बेलै जान्न
जलाईदेऊ बिन्ती
अन्तिम सराप तिम्रो चिनो
मलाईदेऊ बिन्ती  

नदुखे त रातै जान्न
दुखाईदेऊ   बिन्ती
यो आँसुले पोल्नु-पोल्यो
सुकाईदेऊ बिन्ती




*********************************************************************

                             आँशु देखे दू:खी भन्लान्..




आँशु देखे दू:खी भन्लान् हाँसेकैछु ठूली,
चोट- पीडा सबै सही बाँचेकैछु ठूली !

(दु: खीहरुको संसार हेरी बाँचेकैछु ठूली !)


मैन काँडा कुल्ची हिंड्छु ,
तिमीलाई सम्झी पीडा भूल्छु,
ख्याउटिएको आधा जीबन साँचेकैछु ठूली,
आँशु देखे दू:खी भन्लान् हाँसेकैछु ठूली !
चोट- पीडा ................

जता टेक्छु पहीरो जान्छ,
यात्रा अझै बाँकी नै छ ,
जिन्दगीको नाचघरमा नाचेकै छु ठूली,
आँशु देखे दू:खी भन्लान् हाँसेकैछु ठूली!
चोट- पीडा ................

(2056 BS Baisakh)


Vocal: Saaz Singh
Music: Khagendra Pandhak Limbu
(Record: 2058 BS ,Sagar Digital Recording Studio)

*******************************************************************

                               दु:ख  खापी....


  दु:ख  खापी टपरी झैं  खिल्छु जिन्दगीलाई 
साँझ-बिहान छाकै पिच्छे निल्छु जिन्दगीलाई  

     कहिले खोज्छु यतै खुशी खेल्दै ढुंगा-माटो
 छेस्को मुस्कान ढाकरमा बोक्छु भीरको बाटो
            आफैंलाई भेट्न कहिले दूर देश पुग्छु
     रिस बनी सहर पस्छु कहिले बनमा लुक्छु

    दु:ख  खापी टपरी झैं  खिल्छु जिन्दगीलाई 
साँझ-बिहान छाकै पिच्छे निल्छु जिन्दगीलाई  


           अगेनुको आगो निभ्दा मर्छु पलपल
          हिउँद-बर्खा पसिना त बग्छ खलखल
             अँधेरी छ दिनरात रुन्छ मेरो गाउँ
सबथोक गर्छु मान्छे जस्तै मान्छे हुन पाउँ

   दु:ख  खापी टपरी झैं  खिल्छु जिन्दगीलाई 
साँझ-बिहान छाकै पिच्छे निल्छु जिन्दगीलाई


********************************************************************

                     एक्लै बसी रुने मन भो'...



एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी

राखे पनि झिके पनि पोल्छ भत्भती  
बुढेस कालमा बल्ल बुझें माया एकरत्ती
बहुरंगी मनमा रुमाल बुन्छु बेस्सरी
एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी

फूल हो कि काँडा प्यारो रोजें सिउँडी
सपनीको रसरंग खोजें बिउँझी 
तिता-मीठा झझल्कोलाई गुन्छु बेस्सरी  
एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी


**********************************************************************
                            
              सेती नदी गढे जस्तो.....



पुरुष:    सेती नदी गढे जस्तो गढ़यौ छातीभित्र
स्त्री :  त्यै नदीको भेल जस्तो बढ्यौ छातीभित्र


संयुक्त : [सेती नदी गढे जस्तो गढ़यौ छातीभित्र        
               त्यै नदीको भेल जस्तो बढ्यौ छातीभित्र]

पुरुष:   त्यो मन  छुन हिमाल झैँ अग्लिंदैछु म त
           कस्तो जून ? रापिलो छ्यौ, पग्लिंदैछु म त
स्त्री :   त्यै भएर भेल जस्तो बढ्यौ छातीभित्र
पुरुष:  सेती नदी गढे जस्तो गढ़यौ छातीभित्र


संयुक्त : [सेती नदी गढे जस्तो गढ़यौ छातीभित्र        
               त्यै नदीको भेल जस्तो बढ्यौ छातीभित्र]

स्त्री : माछापुछ्रे जस्तो माया हेर्दै बसुँ जस्तो
         अँगालेर हिउँपहिरो झैं संगै खसुँ जस्तो
पुरुष :त्यै भएर सेती जस्तो गढ़यौ छातीभित्र
 स्त्री:  तिमी भने  भेल जस्तै बढ्यौ छातीभित्र


संयुक्त : [सेती नदी गढे जस्तो गढ़यौ छातीभित्र        
               त्यै नदीको भेल जस्तो बढ्यौ छातीभित्र]


************************************************************************